
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता
काठमाण्डौ । तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सोमबार विधेयक राष्ट्रिय सभामा दर्ता गराउनुभएको हो ।
नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विधेयक ल्याइएको उल्लेख छ ।
आँखा स्वास्थ्य विधातर्फ उच्च शिक्षा प्रदान गर्नका लागि विश्वविद्यालय स्थापना गर्ने विधेयकको उद्देश्य रहेको छ ।
काठमाण्डौको तिलगङ्गामा रहेको तिलगङ्गा आँखा उपचार केन्द्रले आँखाको सबैथरी उपचारसँगै लेन्स उत्पादन गर्दै आएको छ । उत्पादित लेन्स विश्वभर नै बिक्री हुँदै आएको हो ।
डा.सन्दुक रुइतसहितको अगुवाइमा खुलेको यो आँखा अस्पतालले विश्वविद्यालय सञ्चालनको माग राख्दै आएको थियो । गएको जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले यो विधेयक संसदमा पेश गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको थियो ।