मदन भण्डारी कलेजद्वारा ट्राफिक सचेतना कार्यक्रमको आयोजना

काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले विद्यार्थीहरुलाई ट्राफिक नियमबारे जानकारी गराउने उद्देश्यले ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कलेजको २३औं वार्षिकोत्सवको साताव्यापी कार्यक्रम अन्तर्गत सोमबार बिहान उपत्यका ट्राफिक व्यवस्थापन कार्यालय रामशाहपथसँगको समन्वयमा ट्राफिक  सचेतना कार्यक्रम आयोजना गरेको हो । विद्यार्थीहरुलाई ट्राफिक संकेत, सवारी नियम लगायत सडक सुरक्षा सम्बन्धी जानकारी गराउन  प्रहरी नायव निरीक्षक गोविन्दराज पन्त कलेजमै उपस्थित हुनुभएको थियो ।

प्रहरी नायव निरीक्षक  पन्तलाई कलेजका सहायक प्रमुख कमल न्यौपानेले स्वागत गर्नुभएको थियो । यस्तै, कार्यक्रमको अध्यक्षता कलेज प्रमुख डा. बाबुराम अधिकारीले गर्नुभएको थियो । प्रहरी नायव निरीक्षक पन्तले सवारी नियमहरूको पालनाका साथै सडक अनुशासनको बारेमा जानकारी गराउनुभएको हो ।

साथै , उहाँले भिडियो सामग्रीको माध्यबाट ट्राफिक चिन्ह, संकेतहरुको बारे समेत विद्यार्थीहरुलाई जानकारी गराउनुभयो । प्रहरी नायव निरीक्षक पन्तले काठमाण्डौ उपत्यकाका सडकहरुमा कहाँ कुन गतिमा सवारीसाधन चलाउनु उचित हुन्छ भन्ने कुराको पनि जानकारी दिनुभयो ।

उहाँले सवारी दुर्घटना हुने प्रमुख कारणहरुमा चालकको लापरबाही, मादक पदार्थ सेवन गरि सवारी चलाउनु, ओभरटेक, ट्राफिक नियमको उल्लंघन तथा ट्राफिक नियममा चेतनाको अभाव, रहेको बताउनुभएको हो ।

पन्तले हाँले सडक दुर्घटनाबाट हरेक दिन सात जना मानिसको ज्यान जाने गरेको पनि बताउनुभयो ।

सोहि अवसरमा कलेजले यसै वर्षदेखि स्काउट सुरु गर्न लागेको सहायक प्रमुख  न्यौपानेले बताउनुभयो । नेपाल स्काउटका राष्ट्रिय कार्यकारी समितिका आयुक्त शिवराम अधिकारीले स्काउट के हो र यसले कसरी काम गर्छ भन्ने विषयमा विद्यार्थीहरुलाई प्रकाश पार्नुभ‍यो ।

कार्यक्रमको समापन गर्दै क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले सडक दुर्घटना अहिलेको जल्दोबल्दो सवाल भएकाले यस किसिमको प्रशिक्षण लाभदायी हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले प्रहरी नायव निरिक्षक गोविन्दराज पन्त र उपत्यका ट्राफिक व्यवस्थापन कार्यलयलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

यस्तै, कलेज प्रमुख डा. अधिकारीले असार १४ गते  स्काउटको औपचारिक सुरुवात गर्ने पनि कार्यक्रममा जानकारी गराउनु भयो ।

मदन भण्डारी मेमोरियल कलेजले असार ९ गते देखि असार १४ गतेसम्म २३औं वार्षिकोत्सवको अवसरमा साताव्यापी विभिन्न कार्यक्रमहरु मनाईरहेको छ । जननेता मदन भण्डारीको स्मृतिमा २०५८ सालमा सर्वसुलभ एवम् गुणस्तरीय शिक्षा दिने अभिप्रायले सामुदायिक कलेजको रुपमा स्थापना भएको यस कलेजमा कक्षा ११ देखि स्नातकोतर तहसम्म अध्यापन हुँदै आएको छ ।