नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : अन्तिम चरणको काम सुरु

काठमाण्डौ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको तीन चौथाइ काम सकिएको छ । आयोजनाको मुख्य सुरुङ र आपत्कालीन सुरुङ छिचोलिएर ‘फिनिसिङ’ (कङक्रिट लाइनिङ) को काम भइरहेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालको नेतृत्वमा आइतबार गरिएको स्थलगत अनुगमनमा सुरुङमार्ग आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले अहिलेसम्म आयोजनाको ७६ प्रतिशत काम सकिएको जानकारी दिनुभयो । त्यसै गरी आयोजनाको वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ । अनुगमन टोली नागढुङ्गातर्फबाट सुरुङमार्गमा प्रवेश गरी धादिङको सिस्नेखोला निस्केका थिए ।

त्यसै गरी सुरुङमार्गभित्र अक्सिजन, लाइट, भेन्टिलेसन, टेलिफोन, जेट पङ्खालगायतका संरचना जडानको काम भइरहेको छ । आयोजना अन्तर्गत अहिले तीन वटा अन्डर पास, चार वटा कल्भर्ट, तीन वटा पुल र एउटा ओभर पास र फ्लाइओभर गरी कुल १२ वटा संरचना निर्माण भइरहेका छन् ।

प्रवक्ता कोइरालाका अनुसार चौडाइ (क्यारिज–वे) साढे नौ मिटरको हुने यस सुरुङमार्गको बिचमा डेढ मिटर चौडाइको विभाजक (मेडियन) र आधा आधा मिटरको दुई वटा पेटी निर्माण भइरहेको छ । सुरुङमार्गको निर्माणमा अहिलेसम्मकै उच्चतम प्रविधि प्रयोग भइरहेको छ ।

उहाँका अनुसार बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुखसम्म दुई किलोमिटर ३०७ मिटरमध्ये एक किलोमिटर ९९५ मिटर कालोपत्र भइसकेको छ । त्यसै गरी धादिङको सिस्नेखोलातर्फ ७२५ मिटरमध्ये ४५० मिटर पहुँच मार्ग निर्माण भइसकेको छ ।