ललितपुरमा प्रथम सहकारी रोजगार मेला शुरु

काठमाण्डाै । ‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ भन्ने नाराका साथ ललितपुरमा प्रथम सहकारी रोजगार मेला हिजोदेखि शुरु भएको छ ।

भोलिसम्म चल्ने सहकारी रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवालाई सहकारी क्षेत्रका रोजगारदातासँग समन्वय गर्ने माध्यमका रूपमा लिइएको छ ।

युवाहरू अवसर र रोजगारीको खोजीमा विदेशिने क्रम बढ्दै गएको अवस्थामा नेपालका सहकारी क्षेत्रमा आबद्ध भई स्वरोजगार हुन सकिने तथा यस क्षेत्रमा पनि रोजगारीको राम्रो अवसर छ भन्ने उद्देश्यका साथ मेला आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

मेलाको हिजो उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले युवाहरूको भावनाअनुसार सहकारी क्षेत्रले काम गर्नुपर्नेमा जोड दिनुभयो । सहकारी रोजगार मेलामा सहकारी क्षेत्रका ३० वटाभन्दा धेरै स्टल छन् ।

तथ्याङ्कअनुसार नेपालमा ३१ हजार वटाभन्दा धेरै सहकारी संस्थामा ७४ लाख व्यक्ति संलग्न छन् ।

सहकारी रोजगार मेला राष्ट्रिय सहकारी महासङ्घ नेपालले मेलाको आयोजना गरेको हो ।