प्रधानमन्त्रीको गुनासो, नयाँ दलले पुराना दलहरूलाई सम्मान गरेनन्

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको गुनासा गर्नुभएको हो ।नेपालमा राजनीतिक दलहरूले दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरूले पुराना दललाई अपमान गरिरहेको प्रधानमन्त्रीको आरोप छ ।

शुक्रबार काठमाण्डौमा नेपाल बुद्धिजीवी संगठनको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हो भन्ने हेक्का गर्दै नयाँ राजनीतिक दलहरूले राख्न जरुरी रहेको बताउनु भयो ।

उहाँका अनुसार नेपालमा केही पनि छैन, नेपालमा केही पनि हुँदैन, नेपालका पार्टी नेताहरू कोही पनि ठिक छैनन् ,त्यसकारण नेपालमा बस्नुभन्दा बाहिर नै जानु ठिक छ भन्ने मनोविज्ञान वा मनोभावना उत्प्रेरित गर्ने कोसिस भइरहेको छ । तर यो गलत हो उहाँले बताउनुभयो ।

नेपालमा राजनीतिक दल र पार्टीहरू दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको उहाँहरूले नै हो । अहिले केही नयाँ नयाँ मानिसहरू हामी नयाँ, हामीले गर्छौं भन्ने ठाउँ दिएको पनि तिनै ठूला पार्टीहरूको त्याग, तपस्या र बलिदान हो प्रधानमन्त्रीले भन्नुभयो।

नयाँ पाटीमा बोल्नेहरूको जिम्मेवारी हुन्छ कि पुराना पार्टीहरूले लामो संघर्ष, जेलनेल, यातना, भूमिगत यो सबै गरेर नलडेको भए लोकतान्त्रिक गणतन्त्र र ती नयाँ मान्छेहरू आउने वातावरण बन्न सम्भव हुने थिएन प्रधानमन्त्रीले बताउनुभयो ।