
भाइब्रन्ट इन्स्टिच्युटका ३ सय विद्यार्थीहरूले गरे मदन भण्डारी मेमोरियल कलेजको अवलोकन
काठमाण्डौ । एसइइ दिएर उच्च शिक्षा अध्ययनको तयारी गरिरहेका भाइब्रन्ट इन्स्टिच्युट, पुतलीसडकका ३ सय विद्यार्थीहरूले आफ्नो शैक्षिक भ्रमणअन्तर्गत शुक्रवार मदन भण्डारी मेमोरियल कलेजको भ्रमण गरका छन् । विनायकनगरस्थित कलेज भ्रमणको क्रममा उनीहरुले कलेजद्वारा सञ्चालित शैक्षिक रेडियो, रेडियो श्वेत शार्दुल ९३.६ मेगाहर्जको स्टुडियोको पनि अवलोकन गरे ।
भ्रमण टोलीलाई क्याम्पस प्रमुख डा. बाबुराम अधिकारी र कलेजका सहायक क्याम्पस प्रमुख एवम् उच्च माध्यमिक तहका प्रधानाध्यापक कमल न्यौपानेले स्वागत गर्नुभएको थियो ।
सहायक क्याम्पस प्रमुख न्यौपानेकाअनुसार यसरी भ्रमण गर्नुको उद्धेश्य विद्यार्थीहरूलाई कलेजको शैक्षिक कार्यक्रमहरुको जानकारी गराउनुकासाथै उनीहरूलाई कलेजमा दिइने सेवा, सुविधा एवम् सिकाइ गतिविधिहरूका बारेमा जानकारी गराउनु रहेको छ । उहाँले एसइइपछि मदन भण्डारी मेमोरियल कलेजलाई आफ्नो शैक्षिक गन्तव्य बनाउन पनि विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै, भ्रमणको क्रममा विद्यार्थीहरूले रेडियोको अत्याधुनिक प्रविधि, कार्यक्रमहरुको योजना, स्क्रिप्टिङ र प्रसारणलगायत रेडियो उत्पादनका विभिन्न पक्षहरूबारे जानकारी लिएका थिए । विद्यार्थीहरूले कलेजका अतिरिक्त, विभिन्न विज्ञान र कम्प्युटर प्रयोगशालाहरूको पनि भ्रमण गरे ।
भ्रमण टोलीका विद्यार्थीमध्येकी एक निभा पाण्डेले आफ्नो अनुभव रोचक रहेको बताउनुभयो । अवलोकन भ्रमणबारे प्रतिकृया दिँदै पाण्डेले बताउनुभयो, “कलेजको भौतिक पूर्वाधारहरु निकै नै राम्रो र सुविधायुक्त रहेछ । साथै रेडियोको स्टुडियो यत्तिको व्यवस्थित देखेर साह्रै रमाइलो अनुभव गरें ।”
भाइब्रान्ट इन्स्टिच्युटका विद्यार्थीहरूले रेडियो श्वेत शार्दूलमा इन्टर्नसिप गरिरहेका पत्रकारिताका विद्यार्थीहरूसँग समेत भेटघाट र अनुभव आदान प्रदान गरेका छन् ।