आज बागमती प्रदेशसभा बैठक बस्दै

काठमाण्डौ । बागमती प्रदेशसभा बैठक आज बस्दै छ । बिहीबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
आजको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट माथिको छलफल प्रारम्भ हुनेछ ।

बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाबाट बजेट माथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ । साथै, सो प्रस्ताव माथि प्रदेशसभा सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन् ।

बैठकमा सांसदहरूले सरकारको आय व्यय र राजस्व सङ्कलनको अनुमान (बजेट) माथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल बजेट मध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत तर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।