
पाल्पाको रामपुरमा विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष स्थापना
काठमाण्डौ । विपन्न विद्यार्थीलाई पढाउने उद्देश्यले पाल्पाका तीन वटा विद्यालयलाई एक–एक लाख रूपैयाँका दरले अक्षयकोष स्थापना गर्न रकम प्रदान गरिएको छ ।
रामपुर नगरपालिका वडा नम्बर ६ निवासी समाजसेवी रामप्रसाद लम्सालको परिवारले रकम प्रदान गरेको हो ।
जेहेन्दार, विपन्न विद्यार्थीबाहेक खेलकुद, सरसफाइ र अनुशासनमा अब्बल ठहरिनेलाई पनि पुरस्कृत गर्न अक्षयकोष खडा गरिएको हो । रामपुर नगरपालिका क्षेत्रभित्रका रामतुलसी नमूना माध्यमिक विद्यालय, दरैठाँटी मावि र आधारभूत माविमा एक–एक लाख रुपैयाँका दरले अक्षयकोष स्थापनाका निम्ति रकम प्रदान गरिएको दाता रामप्रसाद लम्सालले बताउनुभयो ।
उहाँकी श्रीमती चुत्रकलाको जन्मजयन्तीमा ती विद्यालयका प्रधानाध्यापकलाई चेक हस्तान्तरण गरिएको हो ।- रासस