राष्ट्रिय सभामा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तरको तयारी

काठमाण्डौ । राष्ट्रिय सभाले पहिलो पटक प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको अभ्यास गर्न लागेको छ । असारको सम्भावित कार्यतालिकामा सभाले सो कार्यक्रम राखेको हो ।

सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभा नियमावलीको व्यवस्थाबमोजिम सङ्घीय संसद्को माथिल्लो सदनले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम पहिलो पटक अभ्यास गर्न लागेको हो ।

राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिँदै गर्दा उहाँले नियमावलीले गरेको सो व्यवस्था कार्यान्वयन हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको थियो । राष्ट्रिय सभा नियमावली, २०८० को नियम ५५ ९क० ले प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रधानमन्त्रीसँग प्रश्न सोध्नका लागि अध्यक्षले प्रत्येक महिनाको तेस्रो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्ने व्यवस्था गरेको छ ।

नियमावलीमा अध्यक्षले निर्धारण गरेको दिनमा कुनै कारणवस बैठक बस्न नसकेमा अध्यक्षले त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो एक घण्टाको समय तोक्ने उल्लेख छ । यसअघिका अधिवेशनमा प्रधानमन्त्री स्वयम्ले आफ्नो अनुकूलता हेरेर राष्ट्रिय सभालाई सम्बोधन गर्दै आउनुभएको थियो तर प्रश्नोत्तर कार्यक्रम भने पहिलो पटक राखिएको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।