
आचारसंहिताको पालनाले पत्रकारलाई दक्ष र व्यावसायिक बनाउँछ : अध्यक्ष बस्नेत
काठमाण्डौ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आचार संहिता, ऐन कानुनको पालनाले पत्रकारलाई दक्ष र व्यावसायिक बनाउन मद्धत पुग्ने धारणा राख्नु भएको छ । सोमबार रेडियो श्वेत शार्दूलद्वारा ३ महिने इन्टर्न गरिरहेका पत्रकारिताका विद्यार्थीहरूका लागि आयोजित “अग्रज पत्रकारसँग अन्तरक्रिया” कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष बस्नेतले सो धारणा व्यक्त गर्नुभएको हो ।
सहभागीहरूसँग अन्तर्क्रिया गर्नुहँदै उहाँले पत्रकारिता राष्ट्रको चौथौँ अङ्ग भएपनि पत्रकारको भूमिका सबैभन्दा अगाडि आऊने बताउनु भयो । उहाँले इन्टर्न गरिरहेका पत्रकारिताका विद्यार्थीहरूलाई पत्रकार आचारसंहिताको अधिकतम प्रयोग गर्न र पेशाागत मर्यादालाई कायम राख्न सुझाव दिनुभयो । बस्नेतले असल पत्रकारले समस्या देखाउने मात्र नभएर मार्गदर्शनको काम गर्ने तथा खोजमूलक सामाग्री तयार पारेर सामाजिक दायित्व पनि वहन गर्नसक्नुपर्ने बताउनुभयो ।
अनामनगरस्थित रेडियो स्टेसनमा आयोजित अन्तर्क्रियामा अग्रज पत्रकार एवम् नागरिक न्यूजका समाचार संयोजक तेजेन्द्र काफ्लेले प्रविधिको विकासलाई आत्मसाथ गर्दै सामाजिक सञ्जाल समेतको भरपुर उपयोगबाट रेडियो पत्रकारिता गर्न सहभागीहरूलाई सुझाव दिनुभयो । काफ्लेले इन्टर्नसिप गरिरहेका सहभागीहरूसँग अन्तर्क्रिया गर्दै रेडियो, टिभी, छापा र अनलाइन सञ्चार माध्यमका विशेषताका बारेमा प्रकाश पार्नुभयो ।
कार्यक्रममा मदन भण्डारी मेमोरियल कलेजका प्रमुख डा.बाबुराम अधिकारीले पत्रकारिताका विद्यार्थीहरुका लागि अग्रज र अनुभवीहरूसँगको भेटघाट हरेक दृष्टिकोणबाट सुनौलो अवसर भएको बताउनुभयो । व्यवहारिक सिकाइका लागि रेडियोले ल्याएको इनटर्नशिप कार्यक्रमबाट आम सञ्चारको मूलभूत सिकाइमा योगदान पुग्ने डा.अधिकारीको दाबी छ ।
अन्तर्क्रिया गर्न स्टेसन आउनु भएका अग्रज पत्रकारहरूई स्वागत गर्नुहुँदै रेडियो श्वेत शार्दूलका कार्यकारी प्रमुख अमरध्वज लामाले फरक र अनुभवी पुस्ताबाट नव प्रवेशीलाई ज्ञान हस्तान्तरणको अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार रेडियोले वर्षमा १०० जना विद्यार्थीहरुलाई इन्टर्नशिपमार्फत पत्रकारिताको विषयगत र व्यवहारिक तालिम दिई पत्रकारिता गर्न योग्य बनाउने स्टेशनको उद्धेश्य रहेको छ ।
स्टेशन प्रमुख लामाका अनुसार आउँदो साउन १ गते इन्टर्नसिपको नयाँ सेसन सुरू हुनेछ ।
वि.सं २०६६ सालमा स्थापित रेडियो, रेडियो श्वेत शार्दूल ९३.६ मेगाहर्ज मदन भण्डारी मेमोरियल कलेज अन्र्तगत सञ्चालित नेपालको शैक्षिक रेडियो हो ।