
आईसीसी टी–२० विश्वकप : आफ्नो अन्तिम खेलमा बंगलादेशसँग नेपाल २१ रनले पराजित
काठमाडौं। वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेको छ।
सेन्ट भिन्सेन्टको किंग्सटाउनमा आज भएको खेलमा बंगलादेशले नेपाललाई २१ रनले हराएको हो । एक सय ७ रनको लक्ष्य पाएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन जोड्यो। २६ रनमा ५ विकेट गुमाएको नेपालले छैटौँ विकेटका लागि ५२ रनको साझेदारी गर्दै जितको सम्भावना देखाएको थियो।
१७ औँ ओभरको चौथो बलमा कुशल मल्ल छैटौँ विकेटका रुपमा आउट हुँदा नेपालले ७८ रन जोडेको थियो। नेपाललाई अन्तिम तीन ओभरमा २९ रन चाहिएको थियो। १८ औँ ओभरको पहिलो बलमा दीपेन्द्रले छक्का प्रहार गरेपछि खेलमा नेपाल बलियो बनेको थियो। तर उक्त ओभरको पाचौँ बलमा गुल्सन झा गोल्डेन डक आउट भए।
१९ औँ ओभर मुस्ताफिजुर रहमानले विकेट मेडन फ्याँके। सुरुका पाँच बलमा रन नदिएका मुस्ताफिजुरले अन्तिम बलमा दीपेन्द्रलाई आउट गरेका थिए। त्यसपछि लगातार दुई बलमा नेपालले दुई विकेट गुमाएर अलआउट भएको थियो।
नेपालका लागि कुशल मल्लले ४० बलमा २७ र दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २५ रन जोडे। अनिल शाह, गुल्सन झा, सोमपाल कामी, अविनाश बोहराले खाता खोल्न सकेनन्। सन्दीप लामिछाने शून्यमा नटआउट रहे। रोहित पौडेल र सन्दीप जोराले एक एक रन बनाए भने आसिफ शेखले १७ र कुशल भुर्तेलले ४ रन जोडेर आउट भए।
बलिङतर्फ नेपालका सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दिप लामिछानेले दुई दुई विकेट लिए । जितसँगै बंगलादेश सुपर आठमा प्रवेश गर्दा नेपालको विश्वकप यात्रा जितबिहीन भएको छ । आजको खेलमा दुई विकेट लिएका नेपालका सन्दिप लामिछानेले टी–२० अन्तराष्ट्रियमा आफ्नो सय विकेट पुरा गरेका छन् ।