
सहकारी संसदीय छानबिन विशेष समितिको कार्यविधि तयार
काठमाण्डौ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको कार्यविधि तयार भएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले कार्यादेश निर्माणका लागि गठित समितिका सदस्यहरूसँग समेत छलफल गरी कार्यविधि तयार पारेको हो ।
सहकारी छानबिनसम्बन्धी कार्यादेश निर्माणमा संलग्न सांसदहरू महेश बर्तौला, हितराज पाण्डे, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियारसँग छलफल गरी बैठकले आफ्नो कार्यविधि पारित गरेको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले आफ्नो कामलाई अघि बढाउनका लागि कार्यसूचीहरू पनि तय गरेको छ ।
सङ्घीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरूसँग छलफल गर्ने र
आजको सहकारीको समस्याको बारेमा, बचत अपचलन, दुरुपयोगको बारेमा र समग्र अवस्थितिको बारेमा जानकारी लिने र त्यस आधारमा
अरू सूचना, तथ्यहरू लिने काम गर्ने गरी कार्यसूची पनि बैठकले तय गरेको विशेष समितिले जनाएको छ । विशेष समितिको कार्यविधिमा प्रादेशिक सहकारीसँग सम्बन्धित निकाय र सम्बन्धित पालिकाबाट पनि समस्याग्रस्त सहकारीको तथ्य सङ्कलन गर्ने, जानकारीहरू लिने पनि उल्लेख गरिएको छ ।
विगतका सहकारीसम्बन्धी प्रतिवेदनहरू विशेष समितिमा धेरैजसो आइसकेको र आउन बाँकी पनि छिटो उपलब्ध गराउन सम्बन्धित पक्षलाई सचेत पनि गराइएको विशेष समितिका सभापति थापाले बताउनुभयो ।