गरिबी घटाउन उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने एमालेका अध्यक्ष ओलीको भनाई 

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबारे समीक्षा हुन आवश्यक रहेको बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीले चलाइरहेका मन्त्रालयको बजेट विनियोजनको स्थिति पनि हेर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले देशलाई गरिबी हुनबाट बचाउनका लागि एमाले सरकारमा गएकाले बजेट कति ठिक र कति बेठीक भन्नेबारे छलफल हुनुपर्ने धारणा राख्नुभयो । उहाँले दिगो विकास लक्ष्य पाँच वर्षभित्र पूरा गर्नुपर्ने भन्दै मुलुकको विकास र गरिबी घटाउन उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

देश बनाउने सङ्कल्प, अठोटसहित उद्यमशीलता बढाउन प्रविधिको प्रयोग गर्नुपर्ने उहाँको भनाई थियो । अध्यक्ष ओलीले राष्ट्रिय शक्तिलाई कमजोर पार्ने प्रयास स्वरूप एमालेविरुद्ध प्रतिक्रियावादीले गलत हल्ला फैलाएका तर्फ सचेत रहनुपर्ने बताउनुभयो ।