
मदन भण्डारी मेमोरियल कलेजले मनायो आफ्नो २३औँ वार्षिक साधारणसभा
काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले आज (शुक्रबार) आफ्नो २३औँ वार्षिक साधारणसभा कार्यक्रम मनाएको छ । अनामनगरस्थित तमू बौद्ध समितिहलमा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले मदन भण्डारी मेमोरियल कलेजको भविष्य उज्जवल रहेको बताउनुभयो । कलेजले स्थापनाकालदेखि सार्थक शिक्षाका निम्ति तय गरेको यात्रा निरन्तर अघि बढकोप्रति उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामी कसरी यहाँसम्म आइपुगेका छौँ र हाम्रो डेस्टिनेसनमा कसरी उन्मूख भएका छौँ त्यो नै महत्वपूर्ण विषय हो ।”
विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन, विश्वद्यिालयको पाठ्यक्रमअनुसार पठनपाठन गराउन र उनीहरुको शैक्षिक एवम् अतिरिक्त प्रतिभा प्रस्फुटन गर्न पनि कलेजले उचित वातावरणको निमार्ण गरिरहेको अध्यक्ष पाण्डेले विश्वास व्यक्त गर्नुभयो । “हाम्रो विद्यार्थीहरु पढ्छन, प्रगति गर्छन र आफ्नो कार्यक्षेत्रमा अघि बढ्छन्,” उहाँले भन्नुुभयो ।
साधारणसभामार्फत अध्यक्ष पाण्डेले २३औँ वार्षिक साधारणसभामा प्रस्तुत गरिएका वार्षिक प्रतिवेदन सन्तोषजनक रहेको बताउनुभएको छ ।
कलेज व्यवस्थापन समितिका सदस्य डा.कुन्दन अर्यालले साधारणसभा भनेकै गएको वर्षको कामको समीक्षा गर्ने अवसर रहेको बताउनुभयो । सोही कुराको मध्यनजर गर्दै कलेजले सुधार गर्नुपर्ने कार्यलाई प्राथमिकतामा राखेको जिकिर गर्नुभएको हो । गतिशील ढङ्गले अघि बढिरहन सबै कुरामा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
त्यसैगरी पूर्व क्याम्पस प्रमुख एवम् प्राध्यापक डा.ध्रुव कार्कीले नेतृत्वमा विश्वास गर्नुपर्ने बताउनुभएको छ । आफूभन्दा सानो, ठूलो जस्तो भएपनि सक्षम नेतृत्वको निर्देशनलाई पालना गर्नु सधैं उचित हुने उहाँको तर्क थियो । त्यसैगरी उहाँले महिला नेतृत्वलाई पनि जोड दिनुभयो ।
मदन भण्डारी मेमोरियल कलेजका प्रमुख डा.बाबुराम अधिकारीले कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै कलेजको भावी योजनाका बारेमा पनि प्रकाश पार्नुभयो । शिक्षण प्रणालीको विकास तथा सुविधाको न्यायोचित वितरणमा कलेजका प्राध्यापकलगायत कलेज प्रशासनले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेको उहाँको भनाइ छ ।
कार्यक्रममा कलेज व्यवस्थापन समितिका सदस्यहरु, मदन भण्डारी फाउण्डेशनबाट मनोनित सदस्य, मदन भण्डारी मेमोरियल कलेजका प्राध्यापक, कर्मचारीलगायत विद्यार्थी प्रतिनिधीहरुको पनि उपस्थिति थियो ।