
क्रसर व्यवसायीका माग सम्बोधन गर्न नेपाल निर्माण व्यवसायी महासङ्घको सरकारसँग आग्रह
काठमाण्डौ । निर्माण क्षेत्रमा पर्ने असरलाई मध्यनजर गरी वार्ताका माध्यमबाट क्रसर व्यवसायीहरूका माग सम्बोधन गर्न नेपाल निर्माण व्यवसायी महासङ्घले सरकारसँग आग्रह गरेको छ ।
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरूले क्रसर, खानी तथा बालुवा उद्योगहरूको नवीकरण नभए भोलिदेखि देशभरका क्रसर, खानी तथा बालुवा उद्योग एवम् बिक्रीरवितरण अनश्चितकालका लागि बन्द गर्नै चेतावनी दिँदै आन्दोलनको घोषणा गरेका छन् ।
नेपाल निर्माण व्यवसायी महासङ्घलाई पनि आन्दोलनमा समर्थन जनाउन माग गर्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले परिपत्र गरेको थियो । निर्माण व्यवसायी महासङ्घले क्रसर व्यवसायीहरूको माग जायज रहेको बताउँदै आफ्नो आंशिक सहयोग रहेको बताएको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले निर्माण सामग्रीको अभावले निर्माण क्षेत्रमा थप असर र ढिलाइ हुने भन्दै सरकारले तत्काल वार्ता गरी समाधान निकाल्नुपर्ने बताउनुभयो । उहाँले क्रसर व्यवसायीहरूलाई निर्माण व्यवसायी महासङ्घले अहिले काम पूरा गर्ने समय भएकाले उद्योगहरू बन्द नगर्न आग्रह गरेको पनि बताउनुभयो ।