
पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते
काठमाण्डौ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं। २ खेजेनिमको तिङ्दुमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।
मृत्यु हुनेमा ७० वर्षिय रामबहादुर साम्रा लिम्बू, उनकी श्रीमति ४८ वर्षिया जसयमाया लिवाङ साम्रा लिम्बू र उनीहरुका दुई जुम्ल्याहा छोरीहरु १० वर्षिया गंगा र जमुना रहेका छन्।
पहिरोले स्थानीय ४० वर्षिय युगेन लिम्बू र उहाँकी ३ वर्षिया छोरी घाईते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
जिल्ला प्रहरी प्रमुुख डिएसपी रवि रावलले रातको समयमा पहिरो गएको र निद्रामा भएकोले उक्त परिवारका सदस्यहरु भाग्न नपाएको हुन सक्ने बताउनु भयो ।
उनीहरु सबैलाई मृत अवस्थामा फेला पारेको समेत डिएसपी रावलले बताउजु भएको छ ।
ताप्लेजुङमा बुधवारबाट लगातार वर्षा भइरहेको छ। बिहीवार मात्रै पहिरो तथा बाढीले पुल, ग्रामीण सडक र नदी तथा खोला तटिय क्षेत्रमा निर्माण भइरहेका पूर्वाधार बगाएको थियो।