मौलिकता जोगाइरहेको बागलुङको दिजगाउँ

काठमाण्डौं । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिजगाउँले ग्रामीण मौलिकतालाई अझै कायम राखेको छ।

ढोरपाटन नगरपालिका–९ मा पर्ने यो गाउँ शान्त वातावरण, स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताले भरिए पनि विकासका हिसाबले भने निकै पछाडि छ। तर पनि यहाँको मौलिकताले पर्यटकलाई पर्खिरहेको छ । दिजगाउँ प्रकृति र मौलिकतासँग रमाउन चाहनेका लागि उत्कृष्ट गन्तव्य हो ।

ढोरपाटन उपत्यका हुँदै निसेलढोर जाने सडकको पारिपट्टि रहेको यो गाउँका स्थानीयको आफ्नै परम्परा, कला, संस्कृति र रीतिरिवाज छन्। मगर समुदायको बाहुल्यता रहेको दिजगाउँमा काठबाट बनेका घरहरू मात्रै छन्।

परम्परादेखि नै काठका घरमा बस्दै आएका स्थानीय अहिले पनि मौलिकता संरक्षण गर्दै आएका छन ्। गाउँमा स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युत् पहुँच नपुगे पनि गाउँको सुन्दरताका कारण यहाँ पुग्न हरेक पर्यटक लालायित हुन्छन ्।

यो गाउँ ढोरपाटन उपत्यका नजिकै रहे पनि अहिलेसम्म आधुनिकताले जोडिन सकेको छैन। ढोरपाटन उपत्यका क्षेत्रमा पछिल्लो समय नयाँ शैलीका घर भवन बन्दै गएका छन् । सामान्य आधारभूत सेवासमेत नपुगेको गाउँका स्थानीय खेतीपाती र पशुपालन गरी जीविकोपार्जन गर्दै आएका छन ्।

झण्डै एक दशक अगाडि निसेलढोर जोडिने सडकले गाउँलाई नछोए पनि उत्तरगंगा नदी पार गरेर गाडीको सुविधा भने पाउन सक्छन ्। मौलिकता र प्राकृतिक सुन्दरताको सङ्गम रहेको दिजगाउँमा बेलाबखत आन्तरिक तथा बाह्य पर्यटक पुग्छन्।

अझ बढी त बर्खाको समय पदयात्र गर्दै युवायुवती यहाँ जाने गरेका छन्। भौगोलिक विकटताका र प्रचारप्रसार कमीले ओझेलमा रहेको यो गाउँमा पछिल्लो केही वर्षयता भने धेरैको नजर पुग्न थालेको छ । निसीखोलाबाट निसेलढोर जाने मुख्य बाटोमै पर्ने हुँदा पर्यटकले यस गाउँको सुन्दरताको स्वादन गर्नेछन् । गाउँमा पर्यटक आएर बास बस्न खोजे पनि विद्युत् नहुँदा नबसी जाने गरेको स्थानीय मनकुमारी घर्तीमगरले बताइन्।

गाउँमा रहेको काठका घर हेर्न समय–समयमा विदेशी पर्यटक पनि आउने गरेको उनी बताउँछिन्। धेरैजसो ढोरपाटन र निसीखोलाबाट पैदलयात्रामार्फत निसेलढोर पुग्ने मानिस दिजगाउँमा आउने घर्तीमगरले बताए । गाउँमा खानेपानी र बिजुली नहुँदा आफूहरूले समस्या भोग्नुपरेको उनको भनाइ छ । सरकारले दिजगाउँलाई प्राथमिकता दिएर विकास गरे विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्ने घर्ती मगरले दाबी गरे। विद्युत् ल्याउन पोल गाडे पनि अहिलेसम्म लाइन तान्ने कार्य भएको छैन, बिजुलीमात्रै आए पनि गाउँको मुहार फेरिने उनी बताउँछन ्।

ढोरपाटन–९ का अध्यक्ष खिमबहादुर घर्तीमगरले गाउँको मौलिकता संरक्षण गरी राख्ने बताए। पर्यटकलक्षित घरबास सञ्चालन गर्ने योजना रहेको सुनाउँदै उनले यसका लागि नगरपालिकासहित प्रदेश र केन्द्र सरकारको पनि सहयोग हुनुपर्ने अध्यक्ष घर्तीमगर बताउँछन्। गाउँमा सडक पुर्याउन प्रयास गरे पनि शिकार आरक्षको अवरोधका कारण हालसम्म पुर्याउन नसकेको उनको भनाइ छ ।

‘अहिलेसम्म यो गाउँ अन्धकार छ, विद्युत् पुर्याउन ढोरपाटन भुजीखोला लघुजलविद्युत् आयोजनाबाट तयारी गरिरहेका छौँ। खानेपानीको समस्या छ, त्यसका लागि पनि खानेपानी कार्यालय बागलुङबाट काम हुँदैछ’, उनले भने, ‘सडक पु¥याउन साविक बोबाङ गाविस हुँदादेखि नै बजेट छुट्याएर काम अगाडि बढाएका थियौँ। शिकार आरक्षले अवरोधका कारण अहिलेसम्म पुग्न सकेको छैन । अब हाम्रो ध्यान यहाँको मौलकता जोगाउने र घरबास सञ्चालन गर्नेतर्फ हुनेछ ।’