गृहमन्त्री मुछिएको सहकारी ठगी प्रकरणमा थप कागज झिकाउन निवेदक पक्षको माग

काठमाण्डौ । गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा थप कागज झिकाउन निवेदक पक्षले माग गरेको छ।

न्यायाधीशद्वय मनोज शर्मा र तीलप्रसाद श्रेष्ठको इजलासमा निवेदक पक्षका वकिलले लामिछानेविरुद्ध रुपन्देहीमा दर्ता भएको अभियोग पत्र, सिआइबीको अनुसन्धान प्रतिवेदन, संसद्‌मा लामिछाने र प्रधानमन्त्री दाहालले बचाउ व्यक्त गरेका कुरा झिकाउन आदेश माग गरेका छन्।

यस मुद्दामा सुनुवाइ सकिए पनि आदेश आइसकेको छैन। यस मुद्दामा बेलुकासम्म आदेश आउनसक्ने अदालत स्रोतले जनाएको छ। अधिवक्ता अनुपम भट्टराईले रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेको निलम्बन माग गर्दै मुद्दा दर्ता गरेका थिए।

गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा ‘क्लिनचिट’ दिनेगरी महान्यायाधीवक्ता कार्यालयले पत्र लेखेपछि विवाद सुरु भएको हो। महान्यायाधीवक्ता कार्यालयले सहकारीका विषयमा कुनैपनि निकायमा अनुसन्धान, जाहेरी र अभियोग नभएको भनी पत्र लेखेपछि त्यसविरुद्ध भट्टराईले रिट पेश गरेका थिए।

उनले सहकारी ठगीमा विभिन्न जिल्लामा जाहेरी परेको अभियोगपत्रमा समेत नाम उल्लेख भएका व्यक्तिको हकमा यसरी पत्र लेख्नु गैरकानुनी र गैरसंवैधानिक हुने जिकिरसहित रिट पेश भएको थियो।