प्रधानमन्त्री प्रचण्ड मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्लीमा

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन उहाँ दिल्ली जानुभएको छ ।

दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश मन्त्रालयको स्पेसल डिउटी महाशाखाका अधिकारीले स्वागत गरेका परराष्ट्र मन्त्रालयले जनाएको हो । मोदीले आज (आइतबार) बेलुका सवा ७ बजे राष्ट्रपति भवनमा विशेष समारोहबीच तेस्रो कार्यकालका निम्ति शपथ लिँदै हुनुहुन्छ । शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज नै त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साल, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम र परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना पनि दिल्ली जानुभएको छ ।

प्रधानमन्त्री प्रचण्ड भोलि (सोमबार) बेलुका ६ बजे स्वदेश फर्कने तय छ ।