कर्णालीको झोलुङ्गे पुलमा फसेका खच्चरको उद्धार गरिँदै

काठमाण्डौ । दैलेख र अछाम जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पिङको लट्ठा चुँडिदा १४ वटा खच्चर पुलमै फसेका छन् ।

अछामबाट दैलेखका लागि दैनिक उपभोग्य सामग्री बोकेका खच्चर आज बिहान झोलुङ्गे पिङको एकतर्फको लट्ठा चुँडिदा पुलमै फसेका हुन् । पुलको लट्ठा चुँडिदा अहिले आउजाउ पनि बन्द भएको छ ।

अहिले दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले खच्चर उद्धार गर्न थालेको छ । पुलबाट उद्धार सम्भव नभएपछि तार काटेर खच्चरलाई नदीमा फसाल्न थालिएको प्रहरीले जनाएको छ ।

यो पुलले अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ र दैलेखको आठबीस नगरपालिका वडा नम्बर ४ लाई जोड्छ ।