गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले सोमवार विश्वासको मत लिने तयारी

काठमाण्डौ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोलि सोमवार विश्वासको मत लिन लाग्नुभएको छ। प्रदेश सभाबाट सोमबार दिउँसो ३ बजे विश्वासको मत लिन प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरेको उहाँको सचिवालयले जनाएको छ । असार १ गतेसम्म नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने भएकाले उहाँले त्यसअघि नै विश्वासको मत लिन लाग्नुभएको हो ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेतासमेत रहेका पाण्डे सर्वोच्च अदालतको परमादेश अनुसार जेठ १६ गते ठूलो दलका नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । राप्रपाका २, नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र राजीव गुरूङ ‘दीपक मनाङेले समर्थन गर्ने पाण्डेको विश्वास छ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेश सभामा सबभन्दा ठूलो दल कांग्रेसको २७ जना सांसद छन् । राप्रपाका २ जना, देवकाटा र मनाङे गरी ४ जना सांसदले समर्थन गरेमा पाण्डेले विश्वासको मत पाउनुहुन्छ ।