आगामी निर्वाचनमा एमालेकै जित हुन्छ, पार्टीलाई राजनीतिको निर्णायक शक्तिका रुपमा विकसित गर्छौँ : अध्यक्ष ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा काठमाण्डौमा आफ्नो पार्टीलाई कसैले हराउन नसक्ने दाबी गर्नुभएको छ । शनिबार काठमाण्डौ जिल्ला कमिटीको सातौँ अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले अघिल्लो निर्वाचनमा स्थानीय तहसहित संसदीय निर्वाचनमा पनि एमालेले हार व्यहोरेको भन्दै आगामी निर्वाचनमा त्यस्तो नहुने ठोकुवा गर्नुभयो ।

उहाँले अधिवेशनबाट नेतृत्व चयनमा सहमति गर्न निर्देशन दिनुभयो । सहमति नभए पनि व्यक्तिगत प्रतिस्पर्धा भए पनि संगठन बिगारे राम्रो नहुने उनले चेतावनीसमेत दिनुभयो ।

त्यस्तै, अध्यक्ष ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रुपमा विकसित गर्न काठमाण्डौका अगुवा र कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । उहाँले मुलुकका राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका लागि पार्टीलाई अग्रस्थानमा पुर्‍याउनुपर्छ भन्नुभयो ।

अध्यक्ष ओलीले काठमाण्डौको पार्टी सङ्गठन विभिन्न अवरोह पार गर्दै यहाँसम्म आइपुगेको र सङ्कटका घडीमा कार्यकर्ताले पार्टीलाई जोगाएर सुदृढ पार्टीका रुपमा कायम राखेको स्मरण समेत गर्नुभयो ।