प्रधानमन्त्री कप भलिबलमा पुरुषतर्फको खेलमा एपिएफ विजयी, कोशी प्रदेश जितविहीन

काठमाण्डौ । प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा विभागीय टोली नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ३-१ सेटमा पराजित गर्‍यो । खेलको पहिलो सेट २२-२५ ले गुमाएको एपिएफले त्यसपछिका लगातार तीन सेट आफनो पक्षमा पार्दै जित हासिल गर्‍यो ।

एपिएफले खेलको दोस्रो सेट २५-१२, तेस्रो सेट २५-१४ र चौथो तथा अन्तिम सेट २५-१९ ले आफ्नो पक्षमा पार्‍यो । प्रतियोगितामा दोस्रो जित निकालेको एपिएफले यसअघि बूढानीलकण्ठ क्लबलाई ३-१ को सेटमा हराएको थियो । त्यसैगरी यसअघि भएको खेलमा एपिएफले गण्डकी प्रदेशसँग ३-१, नेपाल पुलिससँग ३-२ तथा आर्मी र हेल्प नेपालसँग समान ३-० सेटको हार ब्यहोरेको थियो ।

प्रतियोगितामा कोशी प्रदेशले अहिलेसम्म जित हाँसिल गर्न सकेको छैन । कोशीले यसअघि आर्मी, हेल्प नेपाल, गण्डकी र नेपाल पुलिसँग समान ३-० तथा सुदूरपश्चिसँग ३-१ सेटमा पराजित भएको थियो ।

आजै भएको महिलातर्फको खेलमा न्यु डायमण्डले कर्णाली प्रदेशलाई ३-० र एभरेस्टले एपिएफलाई ३-२ को सेटमा पराजित गर्दै विजयी भएका छन् ।