काठमाण्डौ महानगरबीच र संघीय सरकार द्वन्द्व देखियोः अर्जुननरसिंह केसी

काठमाण्डौ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संघीय सरकार र काठमाण्डौ महानगरपालिकाबीच द्वन्द्वको स्थिति देखा परेको बताउनुभएको छ।

हालै महानगर र संघीय सरकारबीच देखिएको द्वन्द्वले सरकारमाथि नै गम्भीर प्रश्न उठेको केसीको भनाइ छ।

न्यूरोड क्षेत्रमा महानगरले सडक काटेर फुटपाथ बढाउन खोजेपछि संघीय सरकार मातहत सडक विभाग र सडक डिभिजन काठमाण्डौले सडक कालोपत्र गर्दा तनावको स्थिति देखा परेको थियो ।

त्यसप्रति लक्षित गर्दै केसीले प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै भने, ‘हालै संघीय सरकार र काठमाण्डौ महानगरबीच देखिएको द्वन्द्व र भत्काउने बनाउने गाईजात्राले सरकारमाथि नै गम्भीर प्रश्न उठेको छ, तत्काल समन्वय होस्।’

संघीय सरकार पक्षले  युद्धउद्धत, अहंकार र झगडिया मानसिकता बोक्न नहुने उहाँले बताउनुभयो । ‘समन्वय गर्नुपर्ने दायित्व छ, तत्काल पूरा गरोस्,’ उहाँले भन्नुभयो ।

संविधानको धारा २३२ र २३५ का व्यवस्था तथा अनुसूची ५ देखि ९ ले संघीय र प्रदेश सरकारका कार्याधिकारबारे प्रष्ट तोकेको पनि उहाँले बताउनुभयो ।