जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान गर्न विश्व समुदायलाई राष्ट्रपतिको अपिल

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान गरेर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गर्नु भएको छ ।

विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीव्र रूपमा हिमशृंखलाहरू र हिमतालहरूमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी(पहिरोलगायतका प्रकोपहरूले त्यस क्षेत्रका बासिन्दाहरूका लागि आधारभूत जीवनयापनका चुनौतीहरू थपिँदै गएको पनि उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको मूल नारा ‘हाम्रो भूमि, हाम्रो भविष्य भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरी प्रतिरोध’ ले हाम्रा अगाडि रहेका साझा चुनौती र अवसरहरूलाई समेत प्रस्ट पारेको उल्लेख गर्नुभयो ।

उहाँले गत वर्ष संयुक्त राष्ट्रसंघका महासचिव श्री एन्टोनियो गुटेरेसले नेपालको भ्रमणका अवसरमा भन्नुभएको स्मरण गर्दै भने, ‘नेपालका हिमालले भोग्नुपरेको संकटका लागि विश्वसामु अझ जोडदार ढंगले प्रस्तुत गर्नुभएको थियो। उहाँकै शब्दमा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपाललगायत अन्य पर्वतीय मुलुकहरू एउटा विश्वव्यापी संकटको भूमरीमा फसेको उहाँले बताउँनु भयो ।

जलवायु परिवर्तनको विश्वव्यापी मुद्दाहरूको सम्बोधनमा नेपालले राष्ट्रियस्तरमा विभिन्न कार्यहरू गर्दै आएको बताउँदै सरकारको नीति तथा कार्यक्रममा घोषणा गरिएको राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमले जलवायु परिवर्तनका नकरात्मक असर न्यून गर्दै अनुकुलन क्षमता वृद्धि गरी उत्थानशीलता हासिल गर्न सहयोग गर्ने बताउनु भयो ।