
दाङको मालपोत र नापी कार्यालयमा तालाबन्दी गर्न गएका गुठी पीडित किसानमाथि प्रहरीको हस्तक्षेप
दाङ । घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसानमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।
आज बिहान १० बजे कार्यालयमा ताला लगाउन गएका गुठी पीडित किसानमाथि प्रहरीले लाठी चार्ज गर्दा केही किसान घाइते भएका छन् । किसानले मालपोत र नापी कार्यालय अगाडि आन्दोलन गरिरहेका छन् ।
सरकारले पटक–पटक आफूहरूसँग विभिन्न सम्झौता गरे पनि कार्यान्वयन नगरेकाले तालबन्दी गर्नुपरेको गुठी पीडित किसान सङ्घर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताउनुभयो ।
तालाबन्दी भएको मालपोत र नापी दुवै कार्यालयलाई आन्दोलनकारीले घेरेका छन् । आन्दोलनकारीलाई हटाउन प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास र पाँच राउन्ड हवाई फायर गरेको दाङ प्रहरीले जनाएको छ । यो क्षेत्रको स्थिति अहिले तनावग्रस्त छ ।