
छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्ने नीति ल्याउँदैछौँ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सरकार छोराछोरीको कमाइको १० प्रतिशत रकम बाबुआमालाई दिनुपर्ने नीति ल्याउने तयारीमा रहेको बताउनुभएको छ ।
शनिबार भक्तपुरमा सामुदायिक विकास तथा सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र गठ्ठाघरको २०औँ स्थापना दिवस एवं सामुदायिक दर्पण लोकार्पण कार्यक्रममा उनले ज्येष्ठ नागरिक ऐन, ज्येष्ठ नागरिक नियमावलीको संशोधन पारित भएसँगै यस्तो नीति कार्यान्वयनमा आउने उल्लेख गर्नुभयो ।
आफ्नो आमाबाबुको सुरक्षा र संरक्षण हरेक छोराछोरीको दायित्व रहेको उनले उल्लेख गरिन् । तर, आमाबाबु आफ्नै घरबाट अपहेलनामा परिरहेको र ऐन पारित भएसँगै कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आउने उहाँको भनाइ छ । विधेयक पारित भएसँगै ऐनले दिएको अधिकारलाई ७५३ वटै पालिकामा पठाएर यसलाई कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको उहाँले बताउनुभयो । उहाँले संविधानले दिएको हकलाई अब ज्येष्ठ नागरिकले उपभोग गर्न पाउने उल्लेख गर्नुभयो ।
सबै पालिकामा ज्येष्ठ नागरिक दिवा केन्द्र र ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने तयारी गरिएको पनि बताउनुभयो । विभिन्न कारणले बेचिएका बालबालिका र महिलालाई फर्काएर देशमा ल्याएपछि अभिभावकत्व ग्रहण गर्ने जिम्मेवारी राज्यले वहन गर्न नसकेको उहाँको भनाइ छ ।