तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ : पूर्वराष्ट्रपति भण्डारी (पूर्ण पाठ)

काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यकता औँल्याउनुभएको छ ।

नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेका सन्दर्भ पारेर नेवा: पत्रकार राष्ट्रिय दबूद्वारा आयोजित ‘प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’को शुभारम्भ गर्नुहुँदै उहाँले भावी पुस्तालाई आफ्नो सांस्कृतिक पृष्ठभूमिसँग जोड्नका लागि भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नुपर्ने बताउनुभएको हो ।

May be an image of 3 people, dais and text

सम्माननीय श्रीमती विद्यादेवी भण्डारीज्यू (पूर्व राष्ट्रपति)ले प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको उद्‍घाटन समारोहमा गर्नुभएको सम्बोधन (पूर्ण पाठ)

स्टाफ कलेज, ललितपुर, नेपाल ।

माननीय सूचना तथा सञ्चार मन्त्री श्री रेखा शर्मा,
वागमती प्रदेशका पर्यटन, संस्कृति तथा सहकारी मन्त्री श्री शैलेन्द्रमान बज्राचार्य,
ललितपुर महानगरपालिकाका प्रमुख श्री चिरिबाबु महर्जन,
नेपाल प्रेस काउन्सिलका अध्यक्ष,
नेपाल पत्रकार महासंघका अध्यक्ष,
नेवास् पत्रकार राष्ट्रिय दबूका अध्यक्ष,
सम्मेलनमा सहभागी प्रतिनिधिहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित दाजुभाइ तथा दिदी बहिनीहरू ।
 नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको १०० वर्ष पुगेको सन्दर्भ पारेर नेवास् पत्रकार राष्ट्रिय दबूद्वारा आयोजना गरिएको यस ‘प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’को म पूर्ण सफलताको कामना गर्दछु ।
 यस ऐतिहासिक सम्मेलनमा विभिन्न मुलुकका प्रतिनिधिहरू बिच हुने छलफल तथा अन्तर्क्रियाबाट मातृभाषा पत्रकारिताको क्षेत्रमा हासिल भएका अनुभव, सिकाई तथा असल अभ्यासहरूको आदानप्रदान गर्न सहयोग पुग्नेछ भन्ने मैले अपेक्षा गरेको छु ।
 हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो । यही विविधता बिचको एकता नै हाम्रो राष्ट्रिय पहिचान, गौरव र सामर्थ्य हो ।
 हाम्रो संविधानले यस प्रकारको भाषिक विविधतालाई आत्मसात गर्दै नेपालमा बोलिने सबै मातृभाषाहरूलाई ‘राष्ट्रभाषा’ र नेपाली भाषालाई सरकारी कामकाजको भाषाको मान्यता प्रदान गरेको छ ।
 कुनै पनि भाषा खास समुदायको इतिहास, परम्परा र मूल्य मान्यतासँग गाँसिएको हुन्छ । भावी पुस्तालाई आफ्नो सांस्कृतिक पृष्ठभूमिसँग जोड्नका लागि भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यक छ ।
 यस सन्दर्भमा, समावेशी सञ्चारको अवधारणा सहित मातृभाषा पत्रकारितालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्थापित नेवास् पत्रकार राष्ट्रिय दबुले नेपाल भाषा सहित नेपालमा मातृभाषा पत्रकारिताको विकास र प्रवर्द्धनका लागि पुर्‍याएको योगदान प्रशंसनीय छ ।
 प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको आयोजनालाई यसैको एक महत्वपूर्ण कडीको रूपमा मैले लिएको छु ।
 मातृभाषा पत्रकारिताले विश्वव्यापी रूपमा प्रभावशाली रहेका भाषाहरूद्वारा सीमान्तकृत बनाइएका स्थानीय भाषा र समुदायलाई आवाज प्रदान गर्नुका साथै विभिन्न जातजातिका भाषा र संस्कृतिको संरक्षण एवं सम्बर्द्धनमा समेत योगदान पुर्‍याउँदछ भन्ने मलाई लाग्दछ ।
 मातृभाषामा समाचार लेख्ने पत्रकारहरूमा स्थानीय परिस्थितिको बारेमा गहिरो जानकारी हुने हुनाले उनीहरूले आफ्ना पाठक एवं श्रोताहरूका लागि थप सटीक र सान्दर्भिक समाचारहरू उपलब्ध गराउन सक्दछन् ।
 यसैगरी, मातृभाषा पत्रकारिताले विभिन्न भाषिक समुदायहरू बीच संवाद र आदानप्रदानको लागि प्लेटफर्म प्रदान गरेर सांस्कृतिक विविधतालाई जोड्न र अन्तरसांस्कृतिक समझदारीलाई प्रवर्द्धन गर्ने काममा योगदान गर्न सक्दछ ।
 नेपालमा लोकतन्त्रको पुनर्बहाली, खासगरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि हाम्रो अमूल्य सांस्कृतिक सम्पदाको रूपमा रहेका मातृभाषाहरूको संरक्षण र विकासका लागि विभिन्न पहलहरूको थालनी भएको छ ।
 यस क्षेत्रको थप विकास र प्रवर्द्धनका लागि राज्यका निकायहरू, सामुदायिक संघ संस्थाहरू, लेखक तथा सञ्चारकर्मीहरूका साथै स्वयं मातृभाषा बोल्ने सम्बन्धित समुदायको पहल र प्रयत्न आवश्यक हुन्छ ।
 लोकतन्त्र र आमसञ्चार क्षेत्रको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ ।
 जिम्मेवार पत्रकारिता, सुसूचित नागरिक र जवाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन् ।
 पत्रकारिता क्षेत्रले जिम्मेवारीपूर्ण‚ सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र विश्वसनीयता कायम राख्न सक्दछ ।
 तसर्थ, पत्रकारिताको भाषा जुनसुकै भएतापनि आचारसंहिताको पालना एवं पेशागत आचरण कायम राखी पत्रकारिता क्षेत्रलाई स्वस्थ, स्वतन्त्र र उत्तरदायी बनाउनु पर्दछ ।
 अन्तमा, आज पुरस्कृत हुनुभएका व्यक्तित्वहरूलाई हार्दिक बधाई दिँदै पुनस् सम्मेलनको सफलताको कामना गर्दछु ।
धन्यावाद ।
२०८१ जेठ १९ गते शनिबार ।