इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज

काठमाण्डौ । इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक–फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक–फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए । मंगलबार नेपालबाट प्रस्थान गर्नु पर्ने टोली भिसा ढिलो आइपुग्दा ढिलो प्रस्थान गरेको थियो । विविध समस्याका बाबजुद खेल भने अन्त्यमा हुने भएको छ ।

एन्फाले टोलीलाई सोमबार नै विदाई गरेको थियो । उक्त कार्यक्रमका नेपालका लागि बेलायती राजदूत रब फेन समेत उपस्थित रहेको थिए । राजदूत फेनले फुटबल टोलीलाई शुभकामना दिँदै आफूले टोलीलाई पूर्णरूपमा समर्थन गर्ने कुरा व्यक्त गरेका थिए । उनले कार्यक्रमबारे आफूलाई धेरै जानकारी नरहेको पनि बताएका थिए ।

नेपाली टोलीले अब मे ६ मा इङ्ल्यान्ड सि को सामना गर्ने तालिका रहेको छ । खेल एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा हुनेछ ।

नेपाली टोलीः
गोलकिपरः किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार
डिफेन्डरः विमल पाण्डे, रोहित चन्द, छिरीङ लामा, अभिषेक लिम्बू, विशाल बस्नेत, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), योगेश गुरुङ
मिडफिल्डरः फत्तेमान घले, मणि कुमार लामा, लाकेन लिम्बू, भरत खवास, उत्सव राई, मनिष डाँगी
फरवार्डः अन्जन विष्ट, जिलेस्पी जंग कार्की, सञ्जीव विष्ट, दिनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ