झापामा परीक्षा दिएर पर्किँदै गरेकी छात्रामाथि गोली प्रहार

काठमाण्डौ । झापामा परीक्षा दिएर फर्किँदै गरेकी एक विद्यार्थीमाथि गोली प्रहार भएको छ । कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्दा वर्ष १८ की एरिका अधिकारीमाथि गोली प्रहार भएको हो । एरिकामाथि सिरहा घर भएका ३० वर्षीय अमितकुमार साहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

उनको पेटमा गोलीको छर्रा लागेको देखिएको झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले जानकारी दिनुभयो । उनको झापाकै लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ

उदयपुर घर भएकी एरिका हिमालय माविम परीक्षा केन्द्रमा परीक्षा दिएर फर्कदै गर्दा आक्रमण भएको प्रहरीको भनाइ छ । उनीमाथि शुक्रबार मध्याह्न करिब १२ः३० बजे दमक नगरपालिका– वडा नम्बर ५ स्थित ज्येष्ठ नागरिक भवनअगाडि आक्रमण भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनीमाथि किन गोली प्रहार भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोली प्रहारपछि फरार साहको प्रहरीले खोजी गरिरहेको समेत जानकारी दिएको छ ।