![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-03-082920.png)
प्रेसले लोकतान्त्रिक आन्दोलनहरूमा धेरै ठूलो योगदान दिएको छ : राष्ट्रपति पौडेल
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकारसहित नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले महत्तवपूर्ण भूमिका निर्वाह गरेको तथ्य हामी सबैलाई विदित छ भन्नुहुदै राष्ट्रपतिले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य शर्त भएको बताउनुभएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो भन्दै उहाँले नेपाली प्रेसले लोकतन्त्रका लागि भएको आन्दोलनहरूमा धेरै ठूलो योगदान भएको उल्लेख गर्न्ुभयो ।
“प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै अनिवार्य हुन्छ । यसले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन मद्दत पुग्नेछ भन्ने मलाई लाग्दछ । यो समग्र समाजको लोकतान्त्रीकरणको अभियानको एउटा महत्त्वपूर्ण पक्ष पनि हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले सन्देशमा भनिएको छ ।
प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने तथा त्यसका लागि आवश्यक वातावरण निर्माण गर्नु हामी सबैको जिम्मेवारी भएको बताउँदै राष्ट्रपतिले नेपाली प्रेसको यही महत्त्वपूर्ण भूमिकाका कारण हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको उल्लेख गरे ।
“समाजमा विभिन्न कालखण्डहरूमा अनेक खालका अफवाहहरू फैलन सक्छन् । यस्ता अफवाहले नागरिकलाई दिग्भ्रमित गर्ने र सही विचार निर्माण गर्नमा समस्यासमेत उत्पन्न गर्ने गर्दछन् । त्यस अवस्थामा स्वतन्त्र पत्रकारिताले सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न अझ बढी मेहनत गर्नुपर्दछ भन्ने पनि म ठान्दछु”, सन्देशमा भनिएको छ ।
नेपाली सञ्चारजगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ भन्ने पूर्ण विश्वासका साथ राज्यका तीनवटै अङ्गलाई सजग र सतर्कतापूर्वक कार्यसम्पादन गर्न र आमनागरिकलाई सत्य सूचना सम्प्रेषण गर्न प्रेसजगत्लाई सफलता प्राप्त होस् भन्ने शुभकामना राष्ट्रपतिले व्यक्त गरेका छन् ।