सहकारीको रकम अपचलनमा आफ्नो सांसद जोडिएको विषयको निष्पक्ष छानबिन गर्न राप्रपाको माग

काठमाण्डौ । राप्रपाले प्रतिनिधिसभा सदस्य गीता बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको भन्ने विषयको छानबिन गर्न माग राखेको छ । पार्टीकी सांसद सहकारीको रकम अपचलनको बिषयमा जोडिएपछि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले छानबिन गर्न माग गरेको प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार सञ्चारमाध्यममा सार्वजनिक भएअनुसार सो बिषयको छानबिनमा सघाउन निजलाई निर्देशन दिइने साथै उक्त घटनाका विषयमा नेपाल सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिन गर्न र सहकारीको रकम अपचलन सम्बन्धी त्यस्तै प्रकारका घटनामा संलग्न अन्य व्यक्तिहरुमाथि पनि स्वतन्त्र छानबिन गर्न राप्रपाले सरकारसँग माग गरेकोे छ ।

बैठकले उपनिर्वाचनकोे परिणाम पार्टीको पक्षमा नहुनुमा कमजोर संगठन प्रमुख कारण रहेकाले आगामी दिनमा संगठन सुदृढीकरण अभियान सन्चालन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

आन्दोलन र निर्वाचन दुवैका लागि संगठन आधारभूत विषय भएकाले आगामी दिनमा पार्टीलाई थप जागरुक र क्रियाशील बनाउन ४० बुँदे माग, पार्टीको नीति, विचार सिद्धान्त र जनजीविकाका विषयलाई आन्दोलनकै रुप दिई आवश्यकता अनुसार कार्यक्रम तय गर्न र आ–आफ्नो क्षेत्रमा संगठन सुदृढीकरणको अभियान सन्चालन गर्न सबै प्रदेश र जिल्ला कार्यसमितिलाई निर्देशन दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।