आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाण्डौ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा विविध कार्यक्रमका साथ मनाइँदैछ ।

साथै, आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ । सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको अनुसार सूचना प्रविधिको विकास र प्रयोगमार्फत मुलुकको सामाजिक–आर्थिक रुपान्तरण गर्ने योजनामा सरकार रहेको बताउनु भएको छ । उहाँले सूचना प्रविधिको माध्यमबाट समृद्धिको आधार तयार गर्न सकिन्छ भन्नेमा विश्वासका साथ सरकार यस क्षेत्रको विकासका लागि दृढता साथ अघि बढेको बताउनु भएको छ ।