दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सीप मेलाको लक्ष्य होः उपप्रमुख डंगोल

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘सिपमूलक तालिम’ मेला बुधवारदेखि शुरु भएको छ।

२ हजार ८१ जनालाई रोजगारी दिनेगरी निःशुल्क ‘सिपमूलक तालिम’ दिन काठमाडौं महानगरपालिकाले सिप मेला आयोजना गरेको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको उद्देश्य रहेको बताउनु भएको छ ।

उक्त मेलाको उद्घाटन गर्दै उप्रमुख डंगोलले शिक्षालाई सिपसँग,सिपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने गरी सीप नहुनेलाई सीपयुक्त बनाउने योजनाका साथ मेलाको आयोजना गरिएको बताउनु भयो । उहाँले काठमाडौं महानगरपालिकाले सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने र सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिमको मुख्य लक्ष्य रहेको बताउनु भएको छ ।

उहाँले १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम दिनको लागि मेलाको आयोजना गरिएको बताउनु भयो । महानगरपालिकाले रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि भन्ने नारा तय गरेर अभियान चलाएको उहाँको भनाई छ ।

उहाँले निजीको काठमाडौं महानगरसँग मिलेर काम गर्ने भनाईलाई सार्थक बनाउनको लागि निजी क्षेत्रसँग हातेमालो गर्न महानगर तयार रहेको बताउनु भयो । यस्तै उहाँले सरकार र निजी क्षेत्र सहकार्य गरेर देशमा रहेको बेरोजगारको समस्या हल गर्नको लागि एक जुट भएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।