राष्ट्रको समृद्धिमा योगदान गर्ने श्रमिकहरूप्रति सम्मान प्रकट गर्दछु : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

बुधवार शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले श्रमका विविध क्षेत्रमा आफ्नो श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्ने सम्पूर्ण श्रमिकहरूप्रति सम्मान प्रकट गर्नुभएको छ ।

पूर्व राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भन्नुभएको छ- ‘यो दिवसले मुलुकको आर्थिक विकास प्रक्रियामा अहम् भूमिका खेल्ने श्रमिकहरूको योगदानलाई उजागर गर्दै ‘मर्यादित काम र श्रमिकको सम्मान’ गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नेछ भन्ने विश्वास लिएको छु ।’

शुभकामना सन्देशमा भनिएको छ– हाम्रो समाजमा श्रमलाई हेयको दृष्टिले हेर्ने पुरातन मान्यता कुनै न कुनै रूपमा अद्यापि कायमै रहेको देखिन्छ । श्रमलाई सम्मान हैन अपमान गर्ने यही पछौटे संस्कृतिका कारण स्वदेशमा रहँदा निश्चित प्रकारका कामहरू गर्न हिचकिचाउने, तर विदेशमा गएर त्यही काम गर्न बाध्य हुनुपर्ने अवस्था आज धेरै नेपालीले भोगिरहेको यथार्थ हो । तसर्थ,सामाजिक प्रतिष्ठाकै कारण देशका युवाहरू विविध कष्टहरू सहेर पनि वैदेशिक रोजगारीमा जाने वर्तमान अवस्थालाई व्यवहारिक रूपमा बदल्न स्वदेशमै रोजगारीको सिर्जना एवं श्रमिकको सम्मान हुने वातावरण निर्माण गर्नु अपरिहार्य छ ।’

‘नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ । न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानहरूको कार्यान्वयन गरी श्रमजीवी नागरिकलाई त्यसको प्रत्यक्ष लाभ सुनिश्चित गर्नु हामी सबैको दायित्व हो ।’ पूर्व राष्ट्रपति भण्डारीले भन्नुभएको छ ।

उहाँले श्रम जीवन र जगतको अपरिहार्य, अविच्छिन्न र अभिन्न प्रक्रिया हो भन्ने तथ्यलाई आत्मसात् गर्दै रोजगारीको सृजना‚ श्रमको सम्मान‚ उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा लगायतका श्रमिक अधिकारलाई सुनिश्चित गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन मे दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशको पूर्णपाठ

सम्माननीय पूर्व राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय श्रमिक दिवस
(१ मे, २०२४) को अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मे, २०२४) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा श्रमका विविध क्षेत्रमा आफ्नो श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्ने सम्पूर्ण श्रमिकहरूप्रति म हार्दिक सम्मान प्रकट गर्दछु।

विश्वभरिका श्रमिकहरूले एकआपसमा ऐक्यवद्धता आदानप्रदान गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरको रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस मनाइन्छ । यस दिवसले मुलुकको आर्थिक विकास प्रक्रियामा अहम् भूमिका खेल्ने श्रमिकहरूको योगदानलाई उजागर गर्दै ‘मर्यादित काम र श्रमिकको सम्मान’ गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नेछ भन्ने विश्वास लिएको छु ।

हाम्रो समाजमा श्रमलाई हेयको दृष्टिले हेर्ने पुरातन मान्यता कुनै न कुनै रूपमा अध्यापि कायमै रहेको देखिन्छ । श्रमलाई सम्मान हैन अपमान गर्ने यही पछौटे संस्कृतिका कारण स्वदेशमा रहँदा निश्चित प्रकारका कामहरू गर्न हिच्किचाउने, तर विदेशमा गएर त्यही काम गर्न बाध्य हुनुपर्ने अवस्था आज धेरै नेपालीले भोगिरहेको यथार्थ हो । तसर्थ, सामाजिक प्रतिष्ठाकै कारण देशका युवाहरू विविध कष्टहरू सहेर पनि वैदेशिक रोजगारीमा जाने वर्तमान अवस्थालाई व्यवहारिक रूपमा बदल्न स्वदेशमै रोजगारीको सिर्जना एवं श्रमिकको सम्मान हुने वातावरण निर्माण गर्नु अपरिहार्य छ ।

नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ । न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानहरूको कार्यान्वयन गरी श्रमजीवी नागरिकलाई त्यसको प्रत्यक्ष लाभ सुनिश्चित गर्नु हामी सबैको दायित्व हो ।

अन्तमा, श्रम जीवन र जगतको अपरिहार्य, अविछिन्न र अभिन्न प्रक्रिया हो भन्ने तथ्यलाई आत्मसात गर्दै रोजगारीको सृजना‚ श्रमको सम्मान‚ उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा लगायतका श्रमिक अधिकारलाई सुनिश्चित गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन मे दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना  व्यक्त गर्दछु  ।

धन्यवाद ।

२०८१ वैशाख १९ गते बुधबार ।