![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-31-140229.png)
काठमाण्डौ महानगरभित्रका सार्वजनिक शौचालय निःशुल्क हुने
काठमाण्डौ ।काठमाण्डौ महानगरपालिका भित्रका सार्वजनिक शौचालयहरूमा अब पैसा नलाग्ने भएको छ । पहिले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक शौचालयहरूले ५ र १० रुपैयाँ लिइरहेका थिए । काठमाडौं महानगरले सूचना प्रकाशित गरेर अब शुल्क नलाग्ने बताएको हो ।
काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरूमा सेवाग्राहीसँग कुनै शुल्क नलिने व्यवस्था भएको छ ।
निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि काठमाडौँ महानगरपालिकाले आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मत सम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने भएकाले नै शुल्क हटाउन लागेको हो ।
सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेस गर्न अनुरोध गरेको छ ।
सूचना विपरीत सार्वजनिक शौचालयको प्रयोग बापत कुनै प्रकारको शुल्क असुल गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने महानगरले बताएको छ ।
कुनै सरकारी निकाय, गैरसरकारी संस्था वा निजी क्षेत्रबाट आफ्नो परिसरभित्र वा बाहिर सार्वजनिक शौचालय सञ्चालन गरिरहेको हकमा समेत निःशुल्क शौचालय सेवा उपलब्ध गराउनु पर्ने छ ।