न्यूरोडमा भत्काइएको सडक दुई दिनभित्र बनाउन काठमाण्डौ महानगरलाई पत्र

काठमाण्डौ । सडक विभागअन्तर्गतको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले भत्काइएको सडक दुई दिनभित्र बनाउन काठमाण्डौ महानगरपालिकालाई अनुरोध गरेको छ । कार्यालयले न्यूरोडको जुद्ध शालिक–इन्द्रचोक सडक खण्ड यथास्थितिमा पुनर्स्थापना गरिदिन भनेको छ ।

सडक खन्न र भत्काउन रोकेर यथास्थितिमा पुनस्र्थापना गरिदिन यसअघि नै अनुरोध गरे पनि काम नभएको भन्दै कार्यालयले महानगरलाई दुई दिनको समय दिएको हो । हिजो महानगरलाई पत्र पठाउँदै कार्यालयले मर्मत नभएमा सार्वजनिक सडक ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

यसअघि काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाउने घोषणा गर्दै सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाण्डौको गेटमा एक ट्रक धुलो फ्याँकिएको थियो । त्यसपछि सडक विभागले न्यूरोडमा जथाभाबी सडक काट्न रोकेपछि बालेनले अराजक व्यवहार देखाएको प्रतिक्रिया दिएको थियो ।