नेपाली टोलीले आज अमेरिकामा पहिलो अभ्यास खेल खेल्दै

काठमाण्डौ । विश्वकप तयारीका लागि अमेरिकाको टेक्सास राज्य स्थित ह्युस्टन सहर पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेल आज खेल्दैछ । ह्युस्टन हुरीकेन्स विरुद्ध प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा हुने खेल नेपाली समय अनुसार राती ९ः१५ बजे सुरु हुनेछ । खेल हाम्रो खेलकुद मार्फत प्रतक्ष्य प्रसारण समेत हुनेछ ।

नेपाली टोली आउँदो टि–२० विश्वकपका आफ्ना दुई खेल हुने स्थान सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा विन्डवार्ड भोल्क्यानोज विरुद्ध टिम अभ्यास खेल खेलेर ह्युस्टन प्रस्थान गरेको थियो । सो तीन खेलको शृंखलामा नेपाल २–१ ले विजयी भएको थियो ।

नेपाली टोलीका अल–राउन्डर दीपेन्द्र सिंह ऐरीले चोटका कारण आजको खेल गुमाउने छन् । चोटका कारण उनले यस खेल गुमाउने नेपालका कप्तान रोहित कुमार पौडेलले जानकारी दिनुभयो ।

ह्युस्टनमा आज र भोलि २ अभ्यास खेलपछि नेपाली टोली ड्यालस जानेछ । त्यहाँ क्यानाडासँग मे २७ र अमेरिकासँग मे ३० मा वार्मअप म्याच खेल्नेछ। त्यसपछि सोही स्थानमा नेपालले जुन ४ मा टि ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ ।