मुगुमा विद्यार्थी बोकेको जीप दुर्घटना, १२ जना घाइते

मुगुमा शैक्षिक भ्रमणका विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

बाजुराको हिमाली गाउँपालिका–५ कोल्टीको भवानी माध्यमिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन लैजाँदै गरेको ग १ ज ८२४९ नम्बरको जीप आज मुगुको खत्याड गाउँपालिका–२ जाम हिलटपमा पल्टिएको हो ।

दुर्घनामा नौ जना विद्यार्थी, दुई जना शिक्षक र एक जना चालक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका चालक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको अवस्था समान्य छ ।