क्षणिक स्वार्थ र लाभका लागि राजनीति गर्नहुन्न : केपी ओली
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति क्षणिक स्वार्थ र लाभका लागि गर्नु नहुने बताउनुभएको छ ।
आज (बिहीबार) सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो । उहाँले राजनीति देश, जनता र सत्य स्थापनाका लागि हुनुपर्ने बताउनुभयो । उहाँले नेपाली काँग्रेसले संसदमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै संसद अवरुद्ध गरिरहेको र एउटा पात्रकाविरुद्ध खनिएको भन्दै आपत्ति जनाउनुभयो ।
उहाँले काँग्रेस जस्तो पार्टी रवि लामिछाने विरुद्धमा खनिनु भनेको भँगेरा मार्न तोप बोकेर जानु सरह भएको टिप्पणी गर्नुभयो । उहाँले लामिछाने राजनीतिमा आएको एक वर्ष भएको बताउनुभयो। उहाँले कांग्रेसले अघिल्लो दिन प्रधानमन्त्रीमा प्रश्ताव गर्ने र प्रश्ताव नमानेपछि सहकारी ठगको आरोप लगाउने अघ्र्यल्याईं गरेको आरोप लगाउनुभयो । संसदमा मुर्दावादको नारा लगाउन नमिल्ने र अप्रमाणित कुरा संसदमा बोल्न नहुने उहाँको तर्क छ।
अध्यक्ष ओलीले कान्तीपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा छानबिन गर्न पक्राउ गरिएको बताउनुभयो । उहाँले सिरोहिया पक्राउ पर्दा कसरी प्रेस स्वतन्त्रतामाथिको हमला भयो ? भन्दै प्रश्न समेत गर्नुभयो । नागरिकताको कुरालाई प्रेस स्वतन्त्रतामाथिको हमलाका रुपमा बुझ्न नहुने उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीले सांसद डा.सुनिल शर्मा र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा चुइँक्क नबोलेको भन्दै अहिले आएर रवैया देखाउनु अशोभनीय रहेको बताउनुभयो । न्यायको अगाडि सबै बराबर रहेको बताउनुभयो ।