गणतन्त्रमा बदमासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको छ : मन्त्री शर्मा

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रमा बदमासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताउनुभएको छ ।

आज (बिहीबार) राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्वीर प्रदर्शनीमा बाल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले पुष्पकमल दाहाल नेतृत्वको सरकारको डेढ वर्षको अवधिमा गणतन्त्रिक व्यवस्थामा बद्मासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताउनुभएको छ ।

उहाँले सरकार बन्ने बेलामा वर्तमान व्यवस्था नै खराब हो र गणतन्त्रबाट केही भएको छैन भन्ने भाष्य स्थापित हुन खोजेको अवस्था रहेको भन्दै अहिले त्यस्तो अवस्था नरहेको बताउनुभयो । अहिले जतिसुकै ठूलो पदीय हैसियतमा भएपनि गल्ती गर्नेलाई छुट हुँदैन भन्ने स्थापित भएको उहाँको भनाइ छ । उहाँले सरकारको गतिविधिबाट गणतन्त्र र संविधानभन्दा माथि कोही छैन भन्ने कुरा पुष्टि भएको बताउनुभयो ।

मन्त्री शर्माले गणतन्त्रपछि सञ्चार क्षेत्रमा गुणात्मक उपलब्धी हाँसिल भएको बताउनुभयो । तीन तहको सरकार बनेपछि स्थानीय तहमा सडक पूर्वाधारहरु धेरै बनेको र विकास हुन थालेको पनि बताउनुभयो ।