नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत काम सकिएको छ । आयोजनाअन्तर्गत नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको काम भएको छ ।

नेपालगञ्जमा रहेको हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण पाण्डेकाअनुसार ११ दशमलव ६ किलोमिटर चार लेन र १६ दशमलव २ किलोमिटर दुई लेन गरी २७ दशमलव ६२ किलोमिटर सडक विस्तार २०८२ मङ्सिर २७ गतेभित्रमा सम्पन्न गर्ने गरी २०७९ माघ १५ गतेदेखि निर्माण थालिएको हो ।

शर्मा एण्ड कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक दुई अर्ब ७८ करोड २९ लाख रुपैयाँमा निर्माणको ठेक्का जिम्मा पाएको छ । नन्दनी मिलदेखि सुरु भएको कालोपत्रको काम जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका क्षेत्रमा जारी छ ।