सरकार निरङ्कुश भयो, सभामुख पार्टीको कार्यकर्ताका रूपमा प्रस्तुत भए कांग्रेसको भनाई

काठमाण्डौ – नेपाली कांग्रेसले सरकार लोकतन्त्र, संसदीय मूल्य र मान्यताप्रति गैरजिम्मेवार, असहिष्णु र अनुदार भएको आरोप लगाएको छ ।
सोमवार संसद् भवनमा रहेको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछिको पत्रकार सम्मेलनमा प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेससहित सबै विपक्षी दलहरूले सहकारी अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै स्वतन्त्र, निष्पक्ष, पारदर्शी छानबिनको सुनिश्चितताका लागि संसदीय समिति बनाउन माग गरे पनि सरकार त्यसमा तयार नभएको बताउनुभयो ।

उहाँले सत्तापक्ष, सरकार देशभरका सहकारीका ठगीबाट पीडित नागरिकप्रति उदासिन र गैरजिम्मेवार भएको आरोप लगाउनुभयो । नेपाली कांग्रेससहित सङ्घीय संसदमा रहेका सबै विपक्षी दलहरूले लाखौँ नेपाली नागरिकको अर्बाैँ रुपैयाँ अपचलन, हिनामिना, दुरुपयोग र ठगी भएको विषयमा सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने स्वयम् संलग्न रहेको विषयमा स्वतन्त्र, निष्पक्ष, पारदर्शी छानबिनको सुनिश्चितताका लागि संसदीय समितिको माग गरेका उहाँले भन्नुभयौँ ।
आजै विश्वासको मत लिने कुरा नेपालको संसदीय इतिहासमा नौलो र दुःखदायी घटना भएको लेखकले सत्तापक्षमा निरङ्कुशताको मनोवृत्ति हाबी भएको भन्दै बहुमतको दम्भमा े उल्लेख गर्नुभयो ।

प्रमुख सचेतक लेखकले संसदमा सबैभन्दा पहिला बोल्नका लागि विपक्षी दलले प्राथमिकता पाउने भए पनि आजको बैठकमा सभामुखले समय नदिएको गुनासो गर्नुभयो । उहाँले सभामुख देवराज घिमिरेले पार्टी विशेषको कार्यकर्ताको रूपमा प्रस्तुत हुनेगरी कारबाही अघि बढाएको आरोप लगाउनुभयो । उहाँले लोकतन्त्र र संसदीय मूल्य र मान्यता विपरीत नजान सरकारलाई चेतावनी दिनुभयो ।

‘प्रतिनिधि सभामा देखापरेको आजको दृश्यले सभामुखको भूमिका पनि पदीय गरिमा अनुकूल नभएको ठहर गरेका छौँ । कुनै एउटा पार्टी विशेषको कार्यकर्ताको रूपमा प्रस्तुत हुने कुरा सभामुखका लागि राम्रो हुँदैन ।’