प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले प्रतिनिधिसभामा आज विश्वासको मत लिने कार्यसूची छ । तर कांग्रेससहित विपक्षी दलले संसद् अवरोध गर्ने बताएकाले आजको संसद बैठक सञ्चालन हुनेमा अन्योल देखिएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सहज बनाउन अस्ति शनिवार कांग्रेस, एमाले, माओवादी र रास्वापाबीच संसदीय छानबिन समिति गठन विषयमा समझदारी बनाए पनि क्षेत्राधिकार विवादले समिति बन्न सकेको छैन ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

जसपा विभाजन भएपछि जसपा नेपालका ५ जना सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई बाँकी १५२ जनाको समर्थन कायमै छ ।