स्टार्टअप उद्यम गर्नेलाई १० वर्ष आयकर छुट
काठमाण्डौ । सरकारले स्टार्टअप उद्यम गर्नेका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रर्वधन एवम् सहजीकरण गर्ने भएको छ । गएको वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भई कार्यान्वयनमा आएको ‘राष्ट्रिय स्टार्टअप नीति, २०८०’ मा स्टार्टअप उद्यमलाई सरकारले विभिन्न छुट सुविधा, लगानी सहजीकरण, नीतिगत तथा कानुनी प्रवन्ध, व्यावसायिक सुरक्षालगायतका प्रत्याभूति गर्ने उल्लेख गरेको छ ।
स्टार्टअप उद्यमको दर्ता, नवीकरण एवम् औद्योगिक सम्पत्तिको दर्तामा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिइने छ । बीउ पूँजी, जनशक्ति विकास, परामर्श तथा प्रविधि सहयोग, सहुलियतपूर्ण ऋण, निर्यातमा नगद अनुदानलगायत अन्य उद्यमलाई प्रदान गरेका सहुलियत तथा सुविधा उपलब्ध गराइने नीतिमा भनिएको छ । स्टार्टअप उद्यम स्थापना भएको १० वर्षसम्म आयकरमा छुट दिने व्यवस्था गरिनेछ ।
बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्थाका साथै बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको निश्चित प्रतिशत स्टार्टअप उद्यममा लगानी गर्न आवश्यक व्यवस्था मिलाइने उल्लेख छ । नयाँ सोच तथा नवप्रवर्तनकारी उद्यम विकास लागि छुट्टै कोष स्थापना गर्ने र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा पनि सहुलियतको व्यवस्था गरिने नीतिमा उल्लेख छ । स्टार्टअप उद्यम गर्ने उद्यमीलाई वित्तीय सहयोग गर्ने उद्देश्यले ‘नेपाल स्टार्टअप कोष’ नामको छुट्टै कोष व्यवस्था गरिने स्टार्टअप नीतिमा उल्लेख छ ।
प्राइभेट इक्विटी फण्ड, भेञ्चर क्यापिटल र क्राउड फण्डिङबाट स्टार्टअप व्यवसायमा लगानीको अनुकूल वातावरण निर्माण गर्न विद्यमान कानुनमा सुधार गर्न आवश्यक रहेको र यसमा सरकारले सहजीकरण गर्नेछ । त्यस्तै स्टार्टअप व्यवसायले पूँजीबजारबाट प्राथमिक शेयर निष्कासन गर्न पूरा गर्नुपर्ने शर्त सहज हुनेगरी धितोपत्र ऐनलगायत अन्य कानुनमा आवश्यक व्यवस्था गरिने भएको छ ।
यो नीतिको कार्यन्वयनमार्फत सङ्घ, प्रदेश र पालिकाको आ–आफ्नो कार्यक्षेत्र स्टार्टअप उद्यम अनुकूल वातावरण निर्माण गरी अर्थतन्त्रमा योगदान गर्ने अपेक्षा गरिएको छ । उद्यमशीलताको माध्यमबाट उत्पादन एवम् रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्यका साथ सरकारले नीति ल्याएको हो ।