![](https://radioshwetashardul.org/wp-content/uploads/2024/05/Screenshot-2024-05-18-203013.png)
बागमती प्रदेश सभामा चार समितिको सभापति निर्विरोध निर्वाचित
बागमती प्रदेश सभा अन्तर्गत रहेका पाँच वटा विषयगत समितिमध्ये चार वटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार बसेको सार्वजनिक लेखा समिति, प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठकमा ती समितिका सभापति निर्विरोध निर्वाचित घोषणा गरिएको हो ।
पाँच दलबिच भागबण्डा गर्ने सहमतिपछि समिति सभापतिमा एक/एक जनाको मात्र उम्मेदवारी परेको थियो। समिति सभापतिमा एक जनाको मात्र उम्मेदवारी दर्ता भएपछि समितिको बैठकको सभापतित्व गर्ने सदस्यले प्रस्तावित सदस्य सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गर्ने व्यवस्था प्रदेश सभा नियमावलीमा रहेको छ।
सार्वजनिक लेखा समिति सभापतिमा नेपाली कांग्रेसका श्रीराम लामिछाने र प्रदेश मामिला समिति सभापतिमा कांग्रेसकै छिरिङदोर्जे लामा, स्वास्थ्य तथा कृषि समिति सभापतिमा नेकपा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाल र अर्थ तथा विकास समिति सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नुरज वज्राचार्य निर्विरोध निर्वाचित हुनुभएको प्रदेश सभा सचिवालयले जनाएको छ।
यसैबिच बागमती प्रदेश सभाको शनिबार बसेको बैठकले प्रदेश मामिला समिति र उद्योग, पर्यटन तथा वातावरण समितिका सदस्यको सूचीमा हेरफेर गर्दै अनुमोदन गरेको छ।
यस्तै बैठकले प्रदेश सभा विशेषधिकार समिति गठनको प्रस्ताव अनुमोदन गरेको छ। दलहरुबिचको भागबण्डा अनुसार विशेषाधिकार समितिको सभापति नेकपा एकीकृत समाजवादीलाई दिने गरी सहमति गरिएको छ। उद्योग, पर्यटन तथा वातावरण समिति र विशेषाधिकार समितिको सभापतिको निर्वाचनका लागि समितिमा रहेका सदस्यको नामावली शनिबार सार्वजनिक गरिएको छ।