नख्खु दोबाटोमा बसको ठक्करबाट स्कुटरमा सवार यात्रुको मृत्यु

 

काठमाण्डौ । ललितपुरको नख्खु दोबाटोमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ।

सोमबार दिउँसो साढे १२ बजे ललितपुर महानगरपालिका वडा नम्बर ४ स्थित नख्खु दोबाटोमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

बा ४ ख १०४ नम्बरको बसले प्रदेश १–०२–०५१ प ३८५० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

ठक्करबाट राइड सेयरिङ एपका चालक महालक्ष्मी नगरपालिका वडा नम्बर ९ लामाटार बस्ने ४५ वर्षीय भोपाल अधिकारी र भक्तपुर बोडे बस्ने ४६ वर्षीया सबिता थापा घाइते भएका थिए।

उनीहरू दुबै जनालाई अल्का अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा सबिता थापाको मृत्यु भएको एसपी सुवेदीले बताउनु भयो ।

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ। यसबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।