सांसद सुहाङ नेम्वाङले लिए शपथ

काठमाण्डौ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज (बुधबार) पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिनुभएको हो ।

सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिन्ह प्रदान गर्नुभयो । सो अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधानरऐनरनियमका सामग्री प्रदान गरेका थिए ।

कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उपस्थित हुनुहुन्थ्यो । गएको वैशाख १५ गते सम्पन्न इलाम क्षेत्र नम्बर २ को उपचुनावमा नेकपा (एमाले) का उम्मेदवार नेम्वाङ प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो ।