मुलूकमा सहि नीति कार्यान्वयन नगरिए जुनै सरकार आएपनि अर्थतन्त्र अस्तव्यस्त बन्छ : केपी ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलूकमा सहि नीति कार्यान्वयन नगरिए जुनै सरकार आएपनि अर्थतन्त्र अस्तव्यस्त बन्ने बताउनुभएको छ ।

सोमबार लोकान्तरको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित आर्थिक बहसका क्रममा अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो ।

पछिल्लो ३ वर्ष देश अनावश्यक र अनुचित ढंगले सञ्चालन भएकाले अर्थतन्त्र बिग्रिएको उहाँले आरोप लगाउनुभयो । तर वर्तमान गठबन्धन सरकारका कारण अहिले भने देशले सकारात्मक दिशा लिएको उहाँले जिकिर गर्नुभयो ।
अहिलेको आर्थिक मन्दि कोभिड या नाकाबन्दी देखाएर समाधान नहुने उहाँले बतानुभयो । ‘रिकभर हुन थालेको अर्थतन्त्र फेरि नकारात्मक बन्यो । कोभिड, नाकाबन्दीले मात्रै अर्थतन्त्रका सूचकहरु नकारात्मक भएका होइनन्,’ उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्रको अवस्था बिग्रनुको कारण के हो भन्ने प्रश्नमा राजनीतिक अस्थिरतालाई कारक मान्न सकिने बताउनुभयो । उहाँका अनुसार अस्थिरतालाई चिर्दै अगाडि बढ्न, सरकारको योजना कस्तो छ भन्ने कुराले निर्धारण गर्छ । ‘सरकारको ध्यान पहिला बनाउनेमा छ कि, टिकाउनेमा छ, या भत्काउनेमा छ । भत्काउने ध्यान भयो भने केही हुँदैन ।’ त्यसरी परिणाम नआउने उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले कुनै वादको सिद्धान्त भन्दापनि जुनसुकै पार्टीले पनि अर्थतन्त्रको वृद्धिका लागि मिल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सम्पूर्ण दलले उत्तिकै भूमिका खेलेमात्रै अर्थतन्त्र सुदृढ हुने उहाँको विश्वास छ ।
समारोहमा पूर्वप्रधानमन्त्री ओलीले लोकान्तरले प्रकाशित गरेको ‘समृद्धिका तगारा’ नामक पुस्तक सार्वजनिक समेत गर्नुभयो ।

त्यस्तै, सोमबार नै आर्थिक बहसको पहिलो सत्रमा अर्थमन्त्री वर्षमान पुनले आयातामुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन रोजगारी सिर्जना गर्ने र आन्तरिक आर्थिक क्षेत्रलाई मजबुत बनाउन सरकारले प्रयास गरिरहेको बताउनुभएको छ । उहाँले समग्र अर्थतन्त्रमा शिथिलता देखिएको भएतापनि गतवर्ष भन्दा अहिलेको आर्थिक वृद्धिदर बढी रहेको बताउनुभएको छ ।

पूर्वअर्थमन्त्री पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थतन्त्र सुधार गर्नर जनतामा विश्वास जगाउने काममा गठबन्धन सरकारले ठीक दिशा लिइरहेको बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले अर्थतन्त्रको मामिलामा देखिएको निराशा छिट्टै सुल्झाउनुपर्ने जनाउनुभयो । निराशा र अर्थतन्त्र एकआपसमा जोडिएको उहाँको तर्क छ  ।

त्यसैगरी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारसंग भएको अर्थ उतपादनशील क्षेत्रमा लगानी गर्ने उद्धेश्य रहेको बताउनुभएको छ । सहकारी क्षेत्रमा देखिएको समस्याले आम नागरीक त्रसित बनेको उहाँको भनाइ छ ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले संसोधन गरेको केहि एन पर्याप्त नभएको जिकिर गर्नुभयो । विदेशी लगानीकर्तालाई मात्रै नभएर स्वदेशी लगानीकर्तालाई पनि सहज वातावरण बनाउन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

लोकान्तरले आयोजना गरेको सो कार्यक्रममा ललित चौधरीले उत्कृष्ट कर्मचारीको वर्ष पुरस्कार प्राप्त गर्नुभएको हो ।