हमासले युद्धविरामसम्बन्धी सम्झौताको प्रस्ताव स्वीकार गर्यो
एजेन्सी । प्यालेस्टिनी विद्रोही समूह हमासले कतार र इजिप्टको मध्यस्थतामा भएको युद्धविरामसम्बन्धी सम्झौताको प्रस्ताव स्वीकार गरेको छ ।
पहिलो चरणमा छ हप्ताको युद्धविराम गर्ने र त्यस अवधिमा महिला, बालबालिका, वृद्ध र बिरामीसहित ३३ जना इजरायली बन्धकको रिहा गर्ने उल्लेख रहेको इजिप्टका अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।
हमासले रिहा गरेको प्रत्येक इजरायली बन्धकका लागि ३० प्यालेस्टिनी महिला तथा बालबालिका रिहा गर्ने प्रस्तावमा उल्लेख छ । यस्तै प्रस्तावमा इजरायली सेना विस्तारै गाजाका केही भागहरूबाट फिर्ता हुने र जासुसी उडानहरू दैनिक १० घण्टाका लागि रोकिने उल्लेख रहेकोे खबरमा उल्लेख छ । हमासले स्वीकार गरेको यो प्रस्तावमा सम्झौता भएमा गाजामा चलिरहेको द्वन्द्व रोक्न सम्भावित सफलताको प्रतीक भएको जनाएको छ ।
इजिप्ट र कतारको प्रस्ताव हमासले स्वीकार गरेपछि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले इजरायली सरकार र हमास दुवैलाई युद्धविराम सम्झौतामा सहमत हुन आह्वान गर्नुभएको छ । तर इजरायलले यो प्रस्ताव आफ्ना माग पूरा गर्न नसक्ने भन्दै रफाहमा सैन्य कारबाहीलाई निरन्तरता दिने चेतावनी दिएको सीएनएनले जनाएको छ ।
यसैबीच इजरायली सेनाले प्यालेस्टाइनको पूर्वी रफाह क्षेत्र आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको छ । रफाहमा हमास विद्रोही रहेको शङ्कामा इजरायली सेनाले हिजो रातारात एक लाख जना शरणार्थीलाई निकालेर आक्रमण गरेको थियो । इजरायली सेनाले पूर्वी रफाह क्षेत्र नियन्त्रणमा लिएकोमा विरोध गर्दै इजिप्टले यो कदम खतरनाक रहेको बताएको छ ।